नियम १७
जानकारी गराउनु पर्ने
(१) जम्मा पुँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको सेवा प्रदायकले ऐनको दफा २५ बमोजिमको अवधि समाप्त भएपछि ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनः अनुमतिपत्र लिई सञ्चालन गर्ने वा नगर्ने कुराको जानकारी अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा एक वर्ष अंगावै प्राधिकरणलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जानकारी दिएपछि त्यस्तो सेवा प्रदायकले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा छ महिना अगावै नियम ७ को उपनियम (२) बमोजिमको विवरण प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ र प्राधिकरणले त्यसरी पेश भएको विवरण यकीन गर्ने सम्बन्धमा नियम ८ वा १० बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम पुनः अनुमतिपत्र लिई सेवा सञ्चालन नगर्ने जानकारी गराएमा त्यस्तो सेवा प्रदायकले आफ्नो कुनै चल वा अचल सम्पत्ति धितोमा राख्न, बन्धकी दिन वा बिक्री गर्न वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने छैन।
(४) उपनियम (१) बमोजिम पुनः अनुमतिपत्र लिई सेवा सञ्चालन नगर्ने जानकारी गराएमा प्राधिकरणले उपनियम (२) बमोजिमको विवरण प्राप्त गरी त्यस्तो सेवा प्रदायकको सम्पत्ति यस नियमावली बमोजिम मूल्य निर्धारण गर्ने र बिक्री गर्न सम्बन्धी कारबाही अघि बढाउनेछ।
(५) उपनियम (४) बमोजिम बिक्री गर्दा प्राप्त रकमबाट त्यस्तो सेवा प्रदायकको कुनै दायित्व भुक्तान गर्नुपर्ने भए त्यस्तो दायित्व भुक्तान गरिनेछ र यसरी दायित्व भुक्तान गरी बाँकी रहेको रकम नेपाल सरकारको हुनेछ।